दर्ता नै विवादमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गर्नुभएको थियो ।ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहने व्यवस्था गरिएको छ । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ ।

असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएको बुझिएको छ । उक्त दल दर्ता हुन भने बाँकी नै छ । पार्टीको नाम स्वतन्त्र राखिएकामा विवाद भइरहेको छ ।

विभिन्न व्यक्तिहरुले निर्वाचन आयोगमा उजुरी दिएको खुल्न आएको छ ।

संविधान र कानूनले नै स्वतन्त्र उम्मेदवार बन्न पाउने निश्चित गरेका कारण स्वतन्त्र भन्न दलको नाम हुन नसक्ने जिकिर छ । यो बारेमापनि लामिछानेले आफ्नो धारणा राख्नुहुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता, एजेण्डालगायत विषयमा धेरै प्रश्नहरु उठेका छन् । कतिपयले दल नाम नै दर्ता गर्न नमिल्ने प्रकृतिको भएको भन्दै प्रश्न गरेका छन् । लामिछानेका दाई हरिशरण लामिछानेले पनि रविको पार्टीप्रति प्रश्न गर्नुभएको छ ।

Leave a Comment

Your email address will not be published.