मृत्युदण्डको सजाय माग गरिएका सबैभन्दा कान्छा कैदी जेलबाट छुटे

काठमाडौं । मृत्युदण्डको सजाय माग गरिएका सबैभन्दा कान्छा कैदी जेलबाट छुटेका छन् ।सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आशङ्कामा १३ वर्षको उमेरमै पक्राउ परेका एक कैदीलाई साउदी अरबको सरकारले रिहा गरेको हो ।यसअघि, मुर्तजा कुरेरिसलाई मृत्युदण्डको सजाय माग गरिएको भए पनि जेल सजाय मात्र दिइएको थियो ।उनलाई साउदी सरकारले सन् २०१४ मा पक्राउ गरेको थियो । उनीमाथि लागेका धेरै अभियोगमध्ये सन् २०११ मा भएको ‘अरब स्प्रिङ’ प्रदर्शनमा सहभागी हुनु एक मुख्य आरोप थियो ।

कुरेरिस राजनीतिक प्रदर्शनमा सहभागी भएको कारण नियन्त्रणमा लिइएका साउदी अरबका सबैभन्दा कान्छा कैदी थिए । अल्पसङ्ख्यक शिया मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने उनलाई साउदी अरबको पूर्वी प्रदेशमा अरू बालबालिकासँगै साइकलमा विरोध र्‍यालीमा सहभागी भएको भिडियो बाहिर आएपछि उनलाई नियन्त्रणमा लिइयो ।

साउदीमा शिया मुस्लिमहरूले बहुसङ्ख्यक सुन्नी मुस्लिमहरूबाट भेदभाव हुने गरेको आरोप पटक पटक लगाउँदै आएका छन् । त्यहाँ आफूहरूलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिएको गुनासो समय समयमा गर्ने गर्छन् ।

अन्य, अरब देशहरूमा भएको विद्रोहबाट प्रभावित भएर उनीहरूले पनि साउदी प्रशासनविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । तर त्यहाँ फैलिएको तनाव सुरक्षाबल प्रयोग गरेर शान्त पारियो ।

त्यस बेला र लगत्तैका प्रदर्शनमा सहभागीहरूलाई पक्राउ गरिएको थियो, कतिपयलाई मृत्युदण्ड पनि दिइयो । मानवाधिकारका क्षेत्रमा काम गरिरहेका समूहहरूले मुर्तजा कुरेरिसलाई बिना कुनै आरोप वर्षौँसम्म नियन्त्रणमा लिइएको आरोप लगाउँदै आएका छन् । उनी रिहा भएपछि उनी पक्राउ पर्दै गर्दाको तस्बिरसँग कुरेरिसको अहिलेको तुलना गरिएको छ ।

त्यस बेला सानो बालक देखिएका उनी अहिले दाह्री पलाएका युवक भैसकेका छन् । उनलाई अदालतमा सुनुवाइको क्रममा एउटा अतिवादी आतङ्कवादी समूहमा आबद्ध भएको भनिएको थियो ।

प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेको आरोप लागेका आफ्ना दाजुलाई सहयोग गरेको अभियोग पनि उनीमाथि छ । सोही आरोपमा मृत्युदण्ड दिनुपर्ने माग सरकारी वकिलहरूले गरेँ ।

अधिकारकर्मीहरूले उनलाई झुन्डाएर मारिने जोखिम रहेको उल्लेख गर्दै आएका थिए । उनको स्वीकारोक्तिलाई प्रमाणको रूपमा पेस गरिए पनि कुरेरिसले आफूलाई यातना दिएर बोल्न लगाइएको भनेपछि नयाँ ट्विस्ट देखियो ।

बालकलाई आरोपित गरिएको यो घटनाले अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको थियो । त्यसैले पनि मृत्युदण्डको सट्टा जेल सजायको मात्रै फैसला गर्न साउदीमाथि दबाव पुगेको अनुमान गरिन्छ ।सुरुमा उनलाई १२ वर्षको जेल सजाय तोकिए पनि पछि घटाएर आठ वर्ष कायम गरिएको थियो । पूरा सजाय भुक्तान गरेपछि उनी थुनामुक्त भएका हुन् । मानव अधिकारकर्मीहरूले उनलाई मुक्त गर्ने निर्णयको स्वागत गरेका छन् ।

Leave a Comment

Your email address will not be published.